श्रद्धेय भानु गुरुदेवको दिव्यवाणी छ –‘प्रकृतिले के गर्छ ? र, मैले के गर्नुपर्छ भन्ने बुझेको दिन अध्यात्म सुरु हुन्छ ।’ श्रद्धेय रमेश गुरुदेवको प्रकाश दिवसको अवसरमा २०८१ मङ्सिर ११ गते जीवन विज्ञान प्रतिष्ठानमा आयोजित उत्सवमा गुरुदेवले प्रकृतिले दुःख अनुभव गर्ने क्षमता मनुष्यलाई मात्र दिएको बताउँदै दुःखबाट मुक्त हुने खोज मानिसले गर्नुपर्ने मार्गदर्शन गर्नुभयो । प्रकृतिले दिएको त्यही दुःख मुक्तिको खोज सुरु भए पछि मात्र व्यक्तिको जीवनमा अध्यात्म सुरु हुने स्पष्ट पार्दै गुरुदेवले परम प्रकाश भेटेको दिन त्यस दुःखबाट मुक्त हुने बताउनुभयो । श्रद्धेय रमेश गुरुदेवले प्रकाशको स्रोत प्रत्येक व्यक्तिभित्र लुकेर रहेको बताउँदै त्यस परम ज्ञानमा समाहित हुने अवसर सबैलाई प्राप्त होस् भन्ने कामना गर्नुभयो । उत्सवमा श्रद्धेय रमेश गुरुदेवले प्रकाश तर्फको यात्रामा अगाडि बढ्न ध्यान महत्वपूर्ण रहेको बताउँदै ध्यानको प्रयोगसमेत गर्नुभयो । सङ्कीर्तन र नृत्यसहितको सांस्कृतिक कार्यक्रम गरिएको उत्सवमा विभिन्न क्षेत्रबाट एक हजारबढी साधक साधिकाहरू सहभागी थिए । कार्यक्रमका अवसरमा श्रद्धेय रमेश गुरुदेवद्वारा रचित गीतहरू सङ्कलन गरी शिव लामिछानेले तयार गरेको पुस्तक गुरुदेवद्वय, गुरुमा देवी र जननी मातेश्वरीले सार्वजनिक गर्नुभयो । उत्सव समापनसँगै साँझमा जीवन विज्ञान परिसरमा दीपावलीसमेत गरिएको छ ।