जिल्ला समन्वय समिति स्याङ्जाको आयोजनामा २०८१ मङ्सिर ९ गते ‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण’ कार्यक्रम पुतलीबजारमा सम्पन्न भयो । मानिसलाई स्वजागृत नगरेसम्म सुख, शान्ति र समृद्धि प्राप्त नहुने बताउँदै श्रद्धेय भानु गुरुदेवले योग र ध्यानका माध्यमबाट मानिसमा जागरण भर्न सकिने बताउँनु भयो । मानिसलाई जागृत गर्नका लागि मानव शरीरमा रहेका सूक्ष्म ऊर्जाका सातओटा केन्द्रमा काम गर्नु पर्ने र त्यसका लागि जीवन विज्ञानले चक्र विज्ञान गर्दै आएको उल्लेख गर्दै गुरुदेवले स्वजागरण ध्यानविधिको प्रयोग समेत गर्नुभयो । कर्मचारी मिलन केन्द्रको व्यवस्थापन, जिल्ला प्रशासन कार्यालयको समन्वय र जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा भएको कार्यक्रममा स्याङ्जाका ११ ओटै स्थानीय तह सहआयोजक रहेका थिए । पुतलीबजार नगरपालिकाको सिटीहलमा सम्पन्न कार्यक्रममा संघीय सांसद, प्रदेश सांसद, जिल्लाका सबै स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्ला स्थित सरकारी र सुरक्षा निकायका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, शिक्षक, विद्यार्थीलगायतको उत्साहजनक सहभागिता थियो ।