

विराट् चक्र विज्ञान
प्रत्येक व्यक्तिभित्र नैसर्गिक रूपमा स्वास्थ्य, सुख, आत्मविश्वास, प्रेम, ज्ञान, सङ्कल्प र आनन्दका अद्भूत सम्भावना रहेका हुन्छन् जुन हाम्रो मेरुदण्डको तल्लो भागदेखि शिरको माथिल्लो भागसम्म रहेका सातवटा ऊर्जा केन्द्र ‘चक्र’मा सुषुप्त रुपमा रहेका हुन्छन् । यी चक्रहरू जति सन्तुलित र सक्रिय हुन्छन् मानिस त्यतिनै सबल हुन्छ । यीनै चक्रहरूमा बीजको रूपमा लुकेर बसेको अनन्त सम्भावनालाई योगाभ्यास, प्राणायाम, ऊर्जाध्यान र मनोविज्ञानका विधिहरूबाट जागृत गराउन वैज्ञानिक र प्रयोगात्मक अभ्यास अवलम्बन गरी तयार पारेर वर्षौदेखि प्रयोग गरिदै आएको कार्यक्रम हो ‘चक्र विज्ञान’ । अघिल्लो वर्षको चैत महिनामा बुद्धजन्मस्थल लुम्बिनी स्थित अन्तर्राष्ट्रिय ध्यानकक्षमा ५३०० जनाभन्दा बढी सहभागीहरूको साथमा पहिलो ‘विराट् चक्र विज्ञान’ भव्यताका साथ सम्पन्न भएको थियो । यसै कार्यक्रमलाई सुन्दर पर्यटकीय नगरी पोखरामा ६ हजारभन्दा बढीको सहभागितामा गर्ने गरी ‘नेपालको मौलिक ज्ञान, स्वजागरण ध्यान, हिमालको काखमा, विराट् चक्र विज्ञान’ भन्ने भावका साथ ‘विराट् चक्र विज्ञान’ नाम दिइएको हो ।
कार्यक्रमको उद्देश्य
क. व्यक्तिभित्र नैसर्गिक रूपमा रहेका स्वास्थ्य, सुख, आत्मविश्वास, प्रेम, ज्ञान, सङ्कल्प र आनन्दको अद्भूत क्षमता र सम्भावनालाई उजागर गरी सुखी, शान्त र समृद्ध व्यक्ति, समाज र राष्ट्र निर्माणको आधार तयार गर्नु ।
ख. नेपाल भूमिबाट जन्मिएको ‘स्वजागरण’ ध्यान र चक्र विज्ञानलाई वृहद् मानवहितका लागि विश्वभर फैलाउनु ।
ग. तपोभूमि, ध्यानभूमि, बुद्धभूमि र शान्तिभूमि नेपालको ध्यानको मौलिक शिक्षालाई सामूहिक रुपमा विश्वमाझमा फैलाई नेपाललाई एक उत्कृष्ट आरोग्य पर्यटकीय गन्तव्य स्थलको रूपमा स्थापित गर्ने आधार तयार गर्नु ।
सञ्चालन र सहभागिता
– सुन्दर पर्यटकीय नगरी पोखराको रङ्शालमा २०८१ फागुन ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने ।
– प्रत्येक दिन एउटा चक्रको बारेमा व्याख्या साथै त्यस चक्रको स्वभाव अनुसार व्यक्तिमा देखिने व्यवहार र सवल बनाउने उपचारको प्रयोगात्मक अभ्यास हुने ।
– कार्यक्रम बिहान ७ः३० बजेदेखि साझँ ५ः०० बजेसम्म श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवबाट प्रत्यक्ष रूपमा सञ्चालन हुने ।
– देश विदेशका विभिन्न ठाउँ र विभिन्न पेसामा आवद्ध ६ हजारभन्दा बढी व्यक्तिको सहभागिता हुने ।
कार्यक्रमबाट व्यक्तिले लिने लाभहरू
– तनाव, रोग र चिन्तामा व्यापक कमी भइ शरीर स्वस्थ, सक्रिय र ऊर्जावान भएको महसुस हुन्छ ।
– आध्यात्मिक साधना विधि स्पष्ट हुनुका साथै मनमा प्रसन्नता र सकारात्मकता बढ्नाले तनाव न्यून भइ उच्चतम खुसीको अनुभूति हुन्छ ।
– आत्मविश्वास आँट, जोस, जाँगर बढ्न गइ व्यक्ति साहसी र पुरुषार्थी बन्छ ।
– दया, प्रेम र करुणाको भाव बृद्धिसँगै अरुप्रति सम्मान र सहकार्य गर्ने क्षमताको विकास हुन्छ ।
– बोली व्यवहारमा एकरुपता, सङ्कल्प र निर्णय शक्तिको विकास र लक्ष्यमा एकरुपता आउँछ ।
– विवेकको जागरण, परम शान्ति र आनन्दको महसुस हुन्छ ।
समग्र देश र समाजलाई पुग्ने लाभहरू
– ६००१ जनाभन्दा बढीलाई एक हप्ताभरी ‘चक्र विज्ञान’सहित ध्यान साधना गराउँदा गण्डकी प्रदेश ध्यानमय हुने ।
– विश्वलाई नेपाल योगभूमि, देवभूमि, बुद्धभूमि र तपोभूमि हो भन्ने सन्देश प्रवाहित हुने ।
– व्यक्तिभित्र बढ्दै गएको नकरात्मकता, निराशा, गरिबी, बेरोजगारी र आर्थिक अभावलगायतका मानसिक समस्याबाट माथि उठ्ने मार्गचित्र पाउने ।
– स्वस्थ, दक्ष, उत्प्रेरित र नैतिकवान जनशक्ति निर्माणमार्फत स्वस्थ, खुसी र समृद्ध परिवार, समाज र राष्ट्र निर्माणको आधार तयार हुने ।
– सबै धर्म, सम्प्रदाय र संस्कृतिको एउटै सार “मानव सेवा र कल्याण” भन्ने विषयले प्रश्रय पाउने, जसले राष्ट्रिय एकता, भाइचारा र सौहार्दतापूर्ण वातावरण सिर्जना हुने ।
– राष्ट्रियता र राष्ट्रिय भावनालाई अभिवर्धन गर्दै शासकीय आयामहरू जस्तै निजी क्षेत्र, नागरिक समाज, आध्यात्मिक संस्थालगायतलाई नवप्रवर्तनशील र सिर्जनशील कार्य गर्न थप प्रोत्साहन मिल्ने ।
– पर्यटकीय नगरीका रूपमा रहेको पोखराको महत्व र विशेषतालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पुर्याउन सहयोग पुग्ने ।